भैँसीको पाडो बचाउन खोज्दा खोलामा बगेर महिलाको मृत्यु
डडेल्धुरा, भदौ ४ । भैँसीको पाडो बचाउन खोज्दा चिप्लिएर रंगुन खोलामा बगेर डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ।
परशुराम नगरपालिका–१२ लालढुंगाकी अन्दाजी ४५ वर्षीया डम्मरी नाथको बुधबार रंगुन खोलामा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब ९ बजे भैँसी चराउन नदी किनार पुगेकी नाथ भैँसीको पाडो नदी किनारमा पुगेपछि त्यसलाई बचाउन जाने क्रममा चिप्लिएर खोलाको भेलमा बग्नुभएको थियो।
खोलामा बगेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले बिहान करिब १० बजेदेखि नाथको खोजी थालेका थिए। खोजीका क्रममा दिउँसो करिब २ः३० बजे बगेको स्थानबाट करिब पाँच किलोमिटर तल बसगोइरानजिक उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभयो।

