विपद् व्यवस्थापनमा मन्त्रालय संवेदनशील छ : गृहमन्त्री गुरुङ



काठमाडौं,भदौ ४ । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्रमुख जिम्मेवारी भएकाले यस विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गोपाल शर्माले जाजरकोट र रुकुम पश्चिमका विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका सम्बन्धमा सोध्नुभएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले विपद् प्रभावितलाई राहत तथा लाभ उपलब्ध गराउने कानुनी व्यवस्थाबारे स्पष्ट पार्नुभएको हो ।

उहाँले हालको कानुनी व्यवस्थाअनुसार विपद्बाट प्रभावित एक परिवारबाट एक जनाले मात्र लाभ प्राप्त गर्ने व्यवस्था रहेको बताउनुभयो । एकभन्दा बढी व्यक्तिलाई लाभ उपलब्ध गराउन विपद् आउनुअघि नै अंशबण्डा भएको र अलग बसेको हुनुपर्ने कानुनी व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।

उक्त व्यवस्था संशोधन गर्दै स्थानीय तहलाई विपद् व्यवस्थापनमा थप जिम्मेवार बनाउने उद्देश्यले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरी काम अघि बढाइएको पनि गृहमन्त्री गुरुङले जानकारी दिनुभयो ।

स्थानीय तहका पालिका भवन निर्माणमा भवन निर्माण संहिता पालना गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उहाँले आवश्यक समन्वय र सहजीकरण भइरहेको बताउनुभयो ।

विपद् व्यवस्थापन तीनै तहका सरकारको साझा जिम्मेवारी भएकाले संघ, प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय तथा सहकार्य भइरहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्