नुवाकोट लिखु गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण सुरु



नुवाकोट, भदौ ४। स्थानीय तह गठन भएको नौ वर्षपछि नुवाकोटको पूर्वी भेगमा रहेको लिखु गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सुरु गरेको छ। लिखु गाउँपालिका–४ गड्खार, चौघडामा बुधबार गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ र उपाध्यक्ष शुभद्रा उप्रेती अधिकारीले भवनको शिलान्यास गरेसँगै निर्माण कार्य औपचारिक रूपमा अघि बढेको हो।

करिब सात करोड रुपैयाँको लागतमा निर्माण हुने भवन साढे तीन तले र ३० कोठाको हुनेछ। ठेक्का प्रक्रियामार्फत निर्माण हुने भवन डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ। संघीय सरकारको साझेदारीमा निर्माण हुने भवनको काम गाउँपालिकाले हाल आफ्नै पहलमा सुरु गरेको हो।

गाउँपालिका अध्यक्ष श्रेष्ठले लामो समयपछि प्रशासकीय भवन निर्माण सुरु हुनु संस्थागत विकास र नागरिक सेवाका दृष्टिले महत्वपूर्ण कदम भएको बताए। भवन निर्माणलाई तोकिएको समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न निर्माण पक्षलाई उनले निर्देशन दिएका छन्।

प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले नयाँ भवन निर्माणपछि गाउँपालिकाका प्रशासनिक तथा नागरिक सेवा एउटै व्यवस्थित संरचनाबाट सञ्चालन गर्न सहज हुने बताए। हालको भौतिक संरचनाका कारण सेवाग्राहीले भोग्दै आएको स्थान अभाव, कार्यालय व्यवस्थापन र विभिन्न शाखामा धाउनुपर्ने समस्या अन्त्य हुने अपेक्षा गरिएको उनले बताए।

उपाध्यक्ष शुभद्रा उप्रेती अधिकारीका अनुसार नयाँ भवनले जनप्रतिनिधि तथा कर्मचारीलाई समेत व्यवस्थित कार्य वातावरण उपलब्ध गराउनेछ। यसबाट गाउँपालिकाको संस्थागत क्षमता बढ्नुका साथै सुशासन, पारदर्शिता र नागरिकमैत्री सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ।

नुवाकोटका १२ स्थानीय तहमध्ये लिखु गाउँपालिकाले आवश्यक जग्गा प्राप्त गरेपछि आफ्नै प्रशासकीय भवन निर्माण सुरु गरेको हो। केही महिनाअघि मात्रै भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्त भएको थियो। हाल आफ्नै भवन नहुँदा गाउँपालिकाको कार्यालय भलाद्मी डाँडास्थित विद्यालयबाट सञ्चालन हुँदै आएको छ।

नयाँ भवन निर्माण सम्पन्न भएपछि गाउँपालिकाका विभिन्न शाखा तथा सेवा कक्ष एउटै संरचनाबाट सञ्चालन गर्न सकिनेछ। यसले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउनुका साथै गाउँपालिकाको दैनिक प्रशासनिक कामलाई समेत थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

भवन शिलान्यास कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’, उपाध्यक्ष बिमला पाठक केसी, जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा विभिन्न सरोकारवालाको सहभागिता थियो।

शिलान्यासको अवसरमा पञ्चेबाजाको तालमा स्थानीय तथा सहभागीले नाच्दै खुसी साटासाट गरेका थिए। समथर गड्खारफाँटमा निर्माण सुरु भएको नयाँ भवनले गाउँपालिकाको सेवा प्रवाहसँगै स्थानीयवासीमा समेत उत्साह थपेको छ।

प्रतिक्रिया दिनुहोस्