तिब्बतमा बाढी–पहिरोको कहर : तीनको मृत्यु, ५५८ जना बेपत्ता



एजेन्सी,भदौ ११ । चीन–नेपाल सीमावर्ती तिब्बत क्षेत्रमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेका छन्।

बुधबार बिहान सीमावर्ती क्षेत्रमा माटो र भग्नावशेष भवनमाथि खसेपछि एक हजारभन्दा बढी उद्धारकर्मी खोजी तथा उद्धार कार्यमा खटिएका छन्। उद्धारका क्रममा खोजी कुकुर र ड्रोनको समेत प्रयोग गरिएको छ। निगरानी भिडियोमा धेरै मानिस ज्यान जोगाउन भागिरहेको देखिएको जनाइएको छ।

चीनको अर्धसैनिक पिपुल्स आर्म्ड पुलिसका सदस्य ली किपुले अस्थिर भूभाग र साँघुरा पहाडी सडकका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताउनुभयो। मुख्य प्रकोपस्थलमा ठूला सवारीसाधन र भारी उपकरण पुग्न नसके पनि आसपासका सडक खुला रहेकाले आवश्यक राहत सामग्री पुर्‍याइएको उहाँले जानकारी दिनुभयो।

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीमा क्षेत्रमा करिब ८०० उद्धारकर्मी र १५० भन्दा बढी सवारीसाधन परिचालन गरिएको छ। अग्निशमन सेवाले खोजी कुकुर, मानिसको उपस्थिति पत्ता लगाउने स्क्यानर तथा साना डुङ्गासहित ४३१ कर्मचारी परिचालन गरेको छ। राहत सामग्री बोकेका नागरिक तथा सैन्य विमानसमेत तिब्बत पुगेका छन्।

रातभर वर्षा जारी रहेकाले थप पहिरो र चट्टान खस्ने जोखिम उच्च रहेको अधिकारीहरूले बताएका छन्। यसले खोजी तथा उद्धार कार्य अझ चुनौतीपूर्ण बन्न सक्ने अनुमान गरिएको छ। तिब्बत स्वायत्त क्षेत्र विदेशी पत्रकारका लागि सीमित पहुँच भएको क्षेत्रका रूपमा रहँदै आएको छ। विदेशी पत्रकारलाई सामान्यतया चिनियाँ सरकारद्वारा आयोजित भ्रमणमार्फत मात्र त्यहाँ पुग्न अनुमति दिइन्छ।

प्रतिक्रिया दिनुहोस्