भोटेकोशी बाढीपछि सडक तथा पूर्वाधार पुनर्निर्माण तीव्र
नुवाकोट (त्रिशूली), भदौ १६। भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा सडक तथा अन्य भौतिक संरचना पुनर्निर्माणको काम तीव्र पारिएको छ।
पहिलो चरणमा सडक सफाइ, मर्मत र वैकल्पिक मार्ग सञ्चालनलाई प्राथमिकता दिइएको छ। नुवाकोटमा गल्छी–देवीघाट सडकखण्डको ठूलो खोला पुल मर्मत भइरहेको छ भने तादी खोलामा बगाएको पुलको स्थानमा बेलिब्रिज राख्ने तयारी भइरहेको छ।
ढुङ्गेबजारबाट रसुवा जाने सडक आंशिक सञ्चालनमा आएको छ।बाहुनबेँसी–लाच्याङ–धुन्चे तथा ढिकुरे–फेदीबेँसी–चोखते हुँदै रसुवा जाने सडकमा साना सवारी सञ्चालनमा छन् भने ठूला सवारी सञ्चालनका लागि मर्मत भइरहेको छ।
त्रिशूली नदीका पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रलाई सदरमुकामसँग जोड्न त्रिशूलीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा ल्याइएको छ।
धादिङमा फुर्केखोलाको पुल बगेपछि अवरुद्ध सडकको विकल्पमा मासटार–क्युरिनटार हुँदै धादिङबेँसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहतसँगै अत्यावश्यक पूर्वाधार तत्काल पुनः सञ्चालन गर्ने कामलाई सरकारले प्राथमिकता दिएको जनाएको छ।

