प्रधानमन्त्री शाहको सम्बोधन : ‘सरकार हिजो पनि तपाईंसँगै थियो, आज पनि छ र भोलि पनि रहनेछ’



काठमाडौं, भदौ १७ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी–त्रिशूली बाढीबाट भएको जनधनको क्षतिलाई सिंगो नेपालको साझा पीडा भएको बताउनुभएको छ।

प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भन्नुभयो, ‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो।’

संकटको घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने उहाँले बताउनुभयो। विपद्का कारण घरबारविहीन भएका नागरिकको अस्थायी तथा दीर्घकालीन पुनःस्थापनाका लागि सरकारले काम गर्ने उहाँको भनाइ छ।

जलवायु परिवर्तन विश्वव्यापी समस्या भएकाले त्यसको असरबाट सिर्जित विपद्मा विश्व समुदायले साझा जिम्मेवारी लिनुपर्ने प्रधानमन्त्री शाहले बताउनुभयो।

बाढी र हिलो–माटोले भरिएको सुरुङ खोल्ने विशेषज्ञता नेपालसँग मात्र नभई अन्य मुलुकसँग पनि सीमित रहेको भन्दै उहाँले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने बताउनुभयो।

यति ठूलो विपद्का बेला अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने नहुने उहाँको भनाइ छ। विपद्को समयमा प्रदेश सरकार, स्थानीय तह र जनप्रतिनिधिसँग निरन्तर संवाद र समन्वयमा रहेको प्रधानमन्त्री शाहले बताउनुभयो।

उहाँले सरकार पीडित नागरिकको साथमा निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, ‘सरकार हिजो पनि तपाईंसँगै थियो, आज पनि छ र भोलि पनि रहनेछ।’

प्रतिक्रिया दिनुहोस्