भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३५ जनाको शव फेला
काठमाडौं,भदौ २० । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३ सय ३५ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
जसमध्ये रसुवामा १ सय ६० जना, नुवाकोटमा १ सय ९३ जना, धादिङमा ६७ जना, चितवनमा ३ सय ६२ जना, गोरखामा ७४ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २२ जना र नवलपरासी पश्चिम २ सय १९ जना गरी १ हजार ३ सय ३५ जनाको शव फेला परेको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको नेपाल प्रहरीले जनाएको छ ।
यस्तै शव पहिचानका लागि मृतकका १ हजार २ सय ६० र आफन्तका १ हजार १२ गरी कुल २ हजार २ सय ७२ वटा डिएनए नमुना सङ्कलन गरिएको र पहिचान नभएको १ हजार २ सय ९२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
त्यस्तै हालसम्म बाढीका कारण प्रभावित १३ हजार ९८ को उद्धार गरिएको छ भने बेपत्ता भएका ४ हजार ८ सय ८७ जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

