बाढीपीडितका लागि सेकुवा बाई किलोको २० लाखभन्दा बढी सहयोग
नुवाकोट,भदौ २१ । भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सहयोग जुट्ने क्रम जारी छ। यसैक्रममा रेस्टुरेन्ट चेन सेकुवा बाई किलोले बाढीपीडितको राहतका लागि २० लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
सेकुवा बाई किलोले भदौ १६ गते आफ्ना कलंकी, झम्सिखेल, दरबारमार्ग, लाजिम्पाट र बाँसबारीस्थित पाँचवटै शाखाको एक सय प्रतिशत बिक्री रकम बाढीपीडितलाई सहयोग गर्ने घोषणा गरेको थियो।
त्यससँगै कम्पनीका सबै कर्मचारीले एक दिनको तलब तथा बोर्ड सदस्यहरूले जनही एक लाख रुपैयाँ योगदान गरेका थिए। संकलित रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रत्यक्ष हस्तान्तरण गरिएको हो।
हस्तान्तरण गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। बाढीपीडितका लागि गरिएको सहयोगमा ग्राहक, कर्मचारी र व्यवस्थापनको सामूहिक सहभागिता रहेको सेकुवा बाई किलोले जनाएको छ।

