नुवाकोटमा बाढीबाट १९३ जनाको मृत्यु, २६ सयभन्दा बढी बेपत्ता



नुवाकोट,भदौ २१ । भोटेकोशी हुँदै चीनबाट रसुवागढी नाका भएर त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढी गएको १० दिनसम्म पनि क्षतिको प्रारम्भिक तथ्यांक संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार भदौ २० गते शनिबारसम्म विनाशकारी बाढीमा परी १९३ जनाको मृत्यु भएको छ। बाढीका कारण नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका बढी प्रभावित भएका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म २ हजार ६ सय ४ जना बेपत्ता छन्। बेपत्तामध्ये १ हजार ८ सय ७३ जना नेपाली पुरुष, १ सय ४ जना विदेशी पुरुष रहेका छन् भने बाँकी महिला रहेका छन्।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार हेलिकप्टर तथा स्थलमार्गबाट हालसम्म ३ हजार ३ सय ९८ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये ६६ जना घाइतेलाई अस्पताल पठाइएको उनले जानकारी दिए।

बाढी प्रभावितका लागि जिल्लाका विभिन्न स्थानमा २५ वटा आश्रय केन्द्र सञ्चालनमा रहेका छन्। ती केन्द्रमा १ हजार २ सय ११ महिलासहित २ हजार ७ सय १४ जना आश्रय लिएर बसेका जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन तथा बेपत्ताको खोजी र उद्धार कार्य जारी रहेकाले मृतक, बेपत्ता तथा क्षतिको संख्या अझै बढ्न सक्ने प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्