भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४१ पुग्यो, ४ हजार ४४ अझै बेपत्ता
रसुवा,भदौ २१ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ। अझै ४ हजार ४४ जना सम्पर्कविहीन रहेका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालले आइतबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ३२५ महिला, ५२३ पुरुष र ४९३ वटा शव पहिचान गर्न नसकिने अवस्थामा रहेका छन्।
सम्पर्कविहीनमध्ये २ हजार ८६३ नेपाली पुरुष, ५७५ नेपाली महिला, २६९ विदेशी पुरुष, ३३२ विदेशी महिला र पाँच जना अन्य रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो। प्रहरीका अनुसार फेला परेका शवमध्ये १ हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया जारी छ।
बाढीपछि हालसम्म ९ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।
बेपत्ता तथा मृतकको पहिचानका लागि २ हजार ४७२ जनाको डिएनए नमुना सङ्कलन गरिएको छ। मृतक १ हजार २८६ जना र मृतकका आफन्त १ हजार १८६ जनाको नमुना सङ्कलन गरिएको हो।
प्रवक्ता काफ्लेका अनुसार बेपत्ताको पहिचान तथा शवको सनाखत गर्न डिएनए नमुना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको छ। भोटेकोशी बाढीपछि भएको ठूलो मानवीय क्षतिपछि बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र विभिन्न सरकारी निकाय निरन्तर परिचालित छन्।

