३८ ग्राम खैरो हेरोइनसहित मकवानपुरमा तीन जना पक्राउ



मकवानपुर,भदौ २१ — मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, नयाँबस्तीबाट ३८ ग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम सडकखण्डअन्तर्गत चुरियामाईतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००३ प ७८१२ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ का २४ वर्षीय अभिषेक भ्लोन, मनहरी गाउँपालिका–३ डोढेका २४ वर्षीय आशिष घलान र २७ वर्षीय बिमल सुनार रहेका छन्। भ्लोन मोटरसाइकल चालक हुन् भने घलान र सुनार मोटरसाइकलमा सवार थिए।

प्रहरीका अनुसार खानतलासी गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३८ ग्राम बरामद भएको छ। पक्राउ परेकाहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्