आर मरियुको शतकमा न्युजिल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ २ विकेटले पराजित



काठमाडौं,भदौ २१ । अस्ट्रेलियामा जारी एकदिवसीय खेलमा न्युजिल्यान्ड ‘ए’ ले नेपाल ‘ए’लाई २ विकेटले पराजित गरेको छ।

नेपाल ‘ए’ले दिएको २ सय १२ रनको लक्ष्य न्युजिल्यान्ड ‘ए’ले ४९ दशमलव ५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो। नेपालले नियमित अन्तरालमा विकेट लिए पनि ओपनर आर मरियुलाई रोक्न नसक्दा खेल गुमाउन पुग्यो।

मरियुले १ सय ३४ बलमा १६ चौका र ३ छक्कासहित १ सय ३७ रनको उत्कृष्ट शतकीय पारी खेले। उनी ४६ दशमलव ४ ओभरसम्म क्रिजमा टिकेका थिए। उनलाई युवराज खत्रीले कट एन्ड बोल्ड गर्दै आउट गरे।

न्युजिल्यान्ड ‘ए’का एम फिसर २३ रनमा अविजित रहे भने अब्बासले २१ रन बनाए। न्युजिल्यान्डका यी तीन खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके पनि टोलीलाई जित दिलाउन पर्याप्त भयो। नेपाल ‘ए’का रिजन ढकाल, युवराज खत्री र साहब आलमले समान २–२ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ११ रन बनाएको थियो। पवन सर्राफले ९२ बलमा ६ चौकासहित ६१ रन बनाए। पवन र लोकेश बमले पाँचौँ विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए।

लोकेशले ६४ बलमा ४ छक्का र १ चौकासहित ४७ रन जोडे।कप्तान अनिल साहले २४ तथा मयान यादवले २० रन बनाए।न्युजिल्यान्ड ‘ए’का म्याट फिसरले ४ विकेट लिए। योसँगै नेपाल ‘ए’ले प्रतियोगिताका दुवै खेलमा हार बेहोरेको छ।

प्रतिक्रिया दिनुहोस्