नुवाकोटमा मेसिनले काट्न थाल्यो धान, किसानलाई खेती भित्र्याउन सहज हुने आशा



• भरतसन्तोषी लामा

नुवाकोट,कात्तिक ६ । धान पाकेर पहेँलपुर भएका खेतमा किसानलाई अहिले बाली भित्र्याउने चटारो छ। धान काट्न लाग्ने समय, श्रम र खर्च घटाउने उपायको खोजी भइरहेका बेला नुवाकोटको लिखु गाउँपालिकामा नयाँ कृषि प्रविधिको परीक्षण गरिएको छ। लिखु गाउँपालिका–६ स्थित थानसिंह कृषि सहकारी संस्थाले धान काट्ने हाते मेसिनको सफल परीक्षण गरेपछि स्थानीय किसानमा आधुनिक प्रविधिप्रति आशा बढेको हो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन इकाइ नुवाकोटको सहयोगमा सहकारीले मिनी टिलरमा सहजै जडान गर्न सकिने धान काट्ने मेसिन परीक्षण गरेको हो। हिँडाएर चलाउन मिल्ने यस मेसिनले परम्परागत तरिकाले धान काट्दा लाग्ने समय र श्रम घटाउनुका साथै खर्च कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

थानसिंह कृषि सहकारी संस्थाका अध्यक्ष दीपक पन्तका अनुसार मिनी टिलरमा सजिलै जडान गर्न सकिने उक्त मेसिनबाट कम लागतमा धान काट्न सकिन्छ। प्रविधिको प्रयोगले किसानको समय र श्रम बचत हुनुका साथै धान काट्ने खर्चसमेत घटाउन मद्दत पुग्ने उहाँले बताउनुभयो।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन इकाइ नुवाकोटले एक लाख ४० हजार रुपैयाँमा खरिद गरेको मेसिन सहकारीमार्फत कृषकको खेतमा परीक्षण गरिएको हो। थानसिंह कृषि सहकारीले अनुदानमा उक्त मेसिन प्राप्त गरेको हो।

कार्यक्रम कार्यान्वयन इकाईका राजन डङ्गोलका अनुसार हाल लिखु र पञ्चकन्याका फाँटमा मेसिनको परीक्षण भइरहेको छ। लिखुका स्थानीय किसान शिवराम बोहराको खेतमा धान काटेर गरिएको परीक्षणको नतिजा सुखद आएको उहाँले बताउनुभयो।

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै खेतीपातीलाई सहज, छरितो र कम खर्चिलो बनाउने उद्देश्यले गरिएको परीक्षणले स्थानीय किसानलाई धान भित्र्याउन थप सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी खेतीमा श्रमिकको अभाव र बढ्दो लागतको समस्या भोगिरहेका किसानका लागि यस्ता मेसिन उपयोगी बन्न सक्ने देखिएको छ।

परम्परागत रूपमा हँसिया प्रयोग गरेर धान काट्दा बढी समय र श्रम खर्चिनुपर्ने अवस्थामा मेसिनको प्रयोगले खेतीपातीको काम छिटो सम्पन्न गर्न सहयोग पुग्न सक्छ। परीक्षणको नतिजा सकारात्मक देखिएसँगै स्थानीयस्तरमा यसको प्रयोग विस्तार गर्न सके किसानलाई समयमै बाली भित्र्याउन र उत्पादन लागत घटाउन राहत पुग्ने विश्वास गरिएको छ।

कृषिमा प्रविधिको प्रयोग केवल सहजताको विषय मात्र होइन, खेतीलाई दिगो र व्यावसायिक बनाउने आधार पनि हो। थानसिंहमा गरिएको यो परीक्षण सफल प्रयोगमा परिणत भई अन्य किसानसम्म विस्तार हुन सके नुवाकोटका खेतमा आधुनिक कृषि प्रविधिको पहुँच बढाउन महत्त्वपूर्ण योगदान पुग्न सक्छ।

प्रतिक्रिया दिनुहोस्