नुवाकोटको किस्पाङ गाउँपालिकाले मृतक र बेपत्ताका परिवारलाई ३० हजार राहत दिने
नुवाकोट,भदौ २२ । किस्पाङ गाउँपालिकाले भोटेकोशी बाढी तथा विपद्बाट प्रभावित मृतक र बेपत्ताका परिवारलाई तत्काल राहतस्वरूप ३० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समिति र गाउँ कार्यपालिकाको भदौ २१ गते बसेको बैठकले प्रारम्भिक रूपमा संकलन गरिएको तथ्यांक वडा कार्यालयमार्फत रुजु तथा प्रमाणित भएपछि मृतक र बेपत्ताका परिवारलाई जनही ३० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
त्यस्तै, किस्पाङ गाउँपालिका स्थायी ठेगाना भएका र बाढी तथा विपद्का कारण घरबारविहीन भएकालाई तत्कालका लागि मासिक चार हजार रुपैयाँका दरले तीन महिनासम्म राहत उपलब्ध गराउने निर्णय गरिएको छ।
आमा–बुवा गुमाएका बालबालिकाका लागि त्रिभुवन माध्यमिक विद्यालय अर्चलेमा बाल स्याहार केन्द्र सञ्चालन गर्ने निर्णयसमेत भएको छ। केन्द्रमार्फत बालबालिकाको गाँस, बास, मनोरञ्जनसहित आवश्यक अभिभावकत्व प्रदान गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा शिक्षकको बाढीमा मृत्यु वा बेपत्ता भएको अवस्थामा पनि सम्बन्धित परिवारलाई जनही ३० हजार रुपैयाँ तत्काल राहत उपलब्ध गराइने भएको छ।
बाढीका कारण क्षति पुगेको तुप्चे–सोले–सातदोबाटो सडक तत्काल सञ्चालनमा ल्याउन आवश्यक समन्वय गरी काम अघि बढाउने निर्णय गरिएको छ। वैकल्पिक मार्गका रूपमा रहेको तुप्चे–चेम्पेश्वारा–चिलाउने सडकअन्तर्गत चेम्पेश्वारामा ह्युम पाइप व्यवस्थापन तथा सडक मर्मतको काम पनि अघि बढाइने भएको छ।
पालिकाभित्र यातायात सञ्चालन सहज बनाउन अर्चले–चाम्पानी सडकसहित अन्य सडकको मर्मत तथा सुधार कार्य अघि बढाउने निर्णय भएको छ।
यसैगरी, किस्पाङ गाउँपालिकाभित्र घर भएका तर अन्यत्रबाट विस्थापित भएर आएका परिवारलाई न्यूनतम जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरिएको छ। उनीहरूका लागि कोठा र आवश्यक सामानको व्यवस्थापनसमेत गरिनेछ।
किस्पाङ गाउँपालिकाभन्दा बाहिर स्थायी ठेगाना भएका र तत्काल आफ्नो पालिकामा फर्कन नसक्ने विस्थापितका लागि अस्थायी होल्डिङ सेन्टरलाई निरन्तरता दिई न्यूनतम गाँस र बासको व्यवस्था गर्ने निर्णयसमेत गाउँपालिकाले गरेको छ।

