मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु
काठमाडौँ,भदौ २२ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनका लागि सञ्चालन भइरहेको कार्गो विमान दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्, जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे अवतरणका क्रममा अमेजन प्राइम एयरको उडान नम्बर ७५९८ को विमान धावनमार्ग पार गरेर बाहिरिएको थियो। त्यसपछि विमान जमिनमा गुडिरहेका केही सवारीसाधनमा ठोक्किएको थियो।
विमानले ठक्कर दिएका सवारीसाधनमा मानिसहरू च्यापिएका थिए भने विमानभित्र रहेका पाइलट र सहपाइलटसमेत फसेका थिए। दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान भने हालसम्म सार्वजनिक गरिएको छैन।
दुर्घटनालगत्तै उद्धार तथा नियन्त्रणका लागि ६० भन्दा बढी अग्निनियन्त्रक टोली र करिब २०० सुरक्षाकर्मी परिचालन गरिएको थियो। विमानबाट इन्धन चुहिरहेकाले उद्धार कार्य जोखिमपूर्ण बनेको थियो।
दुर्घटनापछि केही समय विमानस्थलका सबै उडान रोकिए पनि आइतबार साँझसम्म चारमध्ये दुईवटा धावनमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो।
फ्लाइटराडार२४ का अनुसार पोर्टो रिकोको सान जुआनबाट उडेको उक्त विमान ३२ वर्ष पुरानो बोइङ ७६७–३०० मालवाहक विमान थियो। उक्त विमान ‘२१ एयर’ नामक कार्गो कम्पनीले अमेजनका लागि सञ्चालन गर्दै आएको थियो।
अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान सुरु गरिसकेको छ।

