‘बेहुली’को ट्रेलरले २४ घण्टामै पायो १० लाखभन्दा बढी भ्युज



काठमाडौं, भदौ २३ । यही शुक्रबार, भदौ २६ गतेदेखि सिनेमाघरमा प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ले रिलिजअघि नै डिजिटल दुनियाँमा उत्साहजनक प्रतिक्रिया पाएको छ।

आइतबार साँझ सार्वजनिक गरिएको चलचित्रको ट्रेलरले सार्वजनिक भएको २४ घण्टामै १० लाखभन्दा बढी भ्युज पाएको छ। ट्रेलरले १८ घण्टामै नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानसमेत हासिल गरेको निर्माण पक्षले जनाएको छ।

‘बेहुली’को प्रभाव नेपालमा मात्र सीमित नभई नेपाली दर्शकको बाक्लो उपस्थिति रहेका विभिन्न मुलुकमा समेत देखिएको छ। ट्रेलर कुवेत, कतार, रोमानिया, साउदी अरब, पोर्चुगल, मलेसिया, दक्षिण कोरिया, जापान, संयुक्त अरब इमिरेट्स र अस्ट्रेलियालगायतका मुलुकमा ट्रेन्डिङमा परेको जनाइएको छ।

ट्रेलरमा प्रेम, पारिवारिक सम्बन्ध र मित्रताका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ। सामाजिक सञ्जालमा ‘कुल ब्वाई’का रूपमा परिचित पारस बम ठकुरी र अभिनेत्री दिव्या रायमाझीको अनस्क्रिन रोमान्टिक केमेस्ट्रीले दर्शकको ध्यान खिचेको छ।

त्यस्तै, अभिनेता सुशान्त कार्कीको प्रहरीको भूमिकामा देखिएको दमदार अवतार, कमेडियन पदम तामाङको हास्य प्रस्तुति तथा सन्तोष बानियाको फरक र प्रभावशाली अभिनयले ट्रेलरप्रति दर्शकको कौतुहलता बढाएको छ।

सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको चलचित्रमा सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायतका कलाकारको पनि अभिनय छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन्। चलचित्र भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्