नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी अस्पतालमा
दिल्ली,भदौ २३ । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी व्यक्ति अस्पतालमा उपचाररत छन्।
राज्यको सागर जिल्लास्थित बाँदा क्षेत्रमा भएको घटनामा आसपासका विभिन्न गाउँका बासिन्दा प्रभावित भएका हुन्। सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ।
नक्कली मदिरा सेवनपछि उनीहरूमा बान्ता हुने, चक्कर लाग्ने र धमिलो देखिनेजस्ता लक्षण देखिएको छ। केही बिरामीको मिर्गौलामा समेत असर देखिएपछि मिथाइल अल्कोहलका कारण विषाक्तता भएको आशंका गरिएको अधिकारीहरूले बताएका छन्।
घटनाबारे स्थानीय प्रहरीले कम्तीमा २० जनाविरुद्ध उजुरी दर्ता गरेको जनाएको छ। तीमध्ये १० जनालाई पक्राउ गरिएको छ।घटनामा संलग्न दोषीमाथि कडा कारबाही गरिने प्रहरीले जनाएको छ।

