प्रधानमन्त्रीसँग छलफलमा पुगेका नुवाकोट किस्पाङका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
काठमाडौं,भदौ २९ । प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्न सिंहदरबार पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् ।
प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिसँग आज सिंहदरबारमा छलफल गरेका थिए । सोही छलफलमा सहभागी हुन किस्पाङ गाउँपालिकाका अध्यक्ष तामाङ पनि सिंहदरबार पुगेका थिए ।
तर, बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट वैशाख २८ गते नै पक्राउ पुर्जी जारी भएको खुलेपछि प्रहरीले उनलाई छलफल सकिएलगत्तै सिंहदरबारबाटै नियन्त्रणमा लिएको हो ।
पक्राउ पुर्जी जारी भएका तामाङ प्रधानमन्त्रीसँगको बैठकमा सहभागी भएपछि प्रहरीले उनलाई सिंहदरबारबाटै पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त दरबारमार्ग लगिएको बुझिएको छ ।

