रसुवामा बाढीले १३ खानेपानी आयोजना क्षतिग्रस्त, २५ करोडभन्दा बढीको क्षति
रसुवा,भदौ ३०। भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा पूर्ण तथा आंशिक क्षति पुगेको छ। बाढीका कारण ती आयोजनामा कम्तीमा २५ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ।
विभागका अनुसार बाढीबाट एक हजार ६२३ जना नागरिक सुरक्षित खानेपानी सुविधाबाट प्रत्यक्ष प्रभावित भएका छन्। बाढीले विशेषगरी गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका खानेपानी आयोजनामा ठूलो क्षति पुर्याएको विभागका महानिर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार अधिकांश आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। कतिपय आयोजनाका मूल पाइपलाइन, शाखा पाइपलाइन तथा खानेपानीका धारासमेत बाढीले बगाएको छ।
गोसाइँकुण्ड गाउँपालिकाका वडा नं. १, २ र ५ मा रहेका खानेपानी आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। ती आयोजनामा भएको क्षतिका कारण मात्रै करिब ९०० भन्दा बढी नागरिक खानेपानी सेवाबाट वञ्चित भएका छन्। त्यस्तै, उत्तरगया गाउँपालिकाका वडा नं. ३ र ४ मा सञ्चालित खानेपानी आयोजनामा पनि बाढीले पूर्णरूपमा क्षति पुर्याएको विभागले जनाएको छ।
कैदलटार, सिम्ले मुहान र बाँसथलसिमलगायतका आयोजनामा मुख्य तथा शाखा पाइपलाइन र खानेपानीका धारामा क्षति पुगेको छ। बाढीका कारण खानेपानी सेवा प्रभावित भएपछि स्थानीय नागरिकलाई सुरक्षित खानेपानीको पहुँचमा समस्या भएको छ।
महानिर्देशक श्रेष्ठले बाढीबाट क्षतिग्रस्त खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण गरी सेवा सुचारु गर्न आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभयो। उहाँका अनुसार क्षतिको विवरणका आधारमा पुनःनिर्माण तथा मर्मतसम्भारको काम अघि बढाइनेछ।

