रसुवा बाढी : ३४१ बिरामीमध्ये २७८ उपचारपछि घर फर्किए
काठमाडौं,भदौ ३०। रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न १९ वटा स्वास्थ्य संस्थामा भर्ना भएका ३४१ बिरामीमध्ये २७८ जना उपचारपछि निको भएर घर फर्किएका छन।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सोमबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार घाइते तथा बिरामीमध्ये हाल २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उपचारका क्रममा चार जनाको मृत्यु भएको छ।
बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन स्वास्थ्य मन्त्रालयले हैजा विरुद्धको खोप अभियानलाई समेत तीव्रता दिएको छ। नुवाकोटमा लक्षित ७१ हजार ६३५ जनसंख्यामध्ये २८ हजार ९९ जनाले खोप लगाएका छन्। यो लक्षित जनसंख्याको ३९ दशमलव २२ प्रतिशत हो। त्यस्तै, रसुवामा लक्षित ३१ हजार ४७४ जनामध्ये नौ हजार ७३१ जनाले अर्थात् ३० दशमलव ९१ प्रतिशतले खोप पाइसकेका छन्।
पछिल्लो २४ घण्टामा एक जनामा कडा झाडापखाला पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ। बाढी प्रभावित चार जिल्लाका ३६ वटा होल्डिङ सेन्टरमा अहिले दुई हजार ८९५ जना आश्रित रहेका छन्।
नुवाकोटका २३ वटा होल्डिङ सेन्टरमा एक हजार ७०१ जना, काठमाडौंका तीन सेन्टरमा ५८५ जना, धादिङका चार सेन्टरमा ३९० जना र रसुवाका छ सेन्टरमा २१९ जना बाढीपीडितले आश्रय लिइरहेका छन्।
बाढी प्रभावितको स्वास्थ्य उपचारका लागि अहिले ३४ वटा टोलीमा १४९ स्वास्थ्यकर्मी परिचालन गरिएको छ। हालसम्म आकस्मिक चिकित्सा टोलीमार्फत सात हजार ७०७ जनाले स्वास्थ्य सेवा लिइसकेका छन्।
सरकारले बाढी प्रभावित नागरिकका लागि मानसिक परामर्श लिन निःशुल्क हेल्पलाइन ११६६ र सुरक्षित मातृत्वसम्बन्धी परामर्शका लागि १११५ सञ्चालनमा ल्याएको छ।

