बलात्कार र साइबर अपराध नियन्त्रणमा सत्तापक्ष–प्रतिपक्ष एकजुट
काठमाडौं, भदौ ३०। महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि राज्य संयन्त्र प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। यस विषयमा प्रतिनिधि सभामा एमालेकी प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको सङ्कल्प प्रस्ताव दर्ता भएको छ।
प्रस्तावमा मौजुदा कानुनको प्रभावकारी कार्यान्वयन, पीडितको सुरक्षा तथा पुनःस्थापना र शीघ्र न्यायका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने माग गरिएको छ। प्रस्तावलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी श्रद्धा कुँवर, कांग्रेसकी रेनुका काउचा, नेकपाका बलावती शर्मा र पार्वती विक, श्रम संस्कृति पार्टीकी अम्बिका देवी सङ्ग्रौला तथा राप्रपाकी खुश्बु ओलीले समर्थन गरेका छन्।
संविधानले महिला तथा बालबालिकाको अधिकार र हिंसा तथा शोषणविरुद्धको हक सुनिश्चित गरे पनि बलात्कार, यौन हिंसा, साइबर बुलिङ र चरित्रहत्याजस्ता घटना बढ्नु गम्भीर चिन्ताको विषय भएको प्रस्तावमा उल्लेख छ। प्रस्ताव पारित भए सरकारले सम्बन्धित विषयमा आवश्यक निर्देशन दिन सक्नेछ।

