भोटेकोशी बाढीपीडितलाई घर सफा गरेर पुनःस्थापना गर्न थालियो
काठमाडौं, भदौ ३०। सरकारले भोटेकोशी हिमबाढीबाट प्रभावित परिवारलाई आंशिक क्षति भएका घर सफा गरी पुनःस्थापना गर्न थालेको छ। बाढीसँगै आएको लेदो, ढुङ्गा र माटो पन्छाएर बस्नयोग्य बनाइएका घरमा पीडितलाई फर्काउन थालिएको हो।
धादिङ, नुवाकोट र रसुवामा जिल्ला प्रशासनको सक्रियतामा आंशिक क्षति भएका घर पहिचान गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्वयंसेवकको सहयोगमा सफाइ भइरहेको छ।धादिङमा मात्रै ५४२ घर प्रभावित भएकामा करिब एक सय घरको लेदो पन्छाएर पुनःस्थापना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले बताउनुभयो।
विदुर नगरपालिकाका १३ वडामा एक हजार ७१० घरमा क्षति पुगेको छ। वडा नं. ३ मा मात्रै करिब एक हजार १०० घर प्रभावित भएकामा करिब १० प्रतिशत घर लेदो पन्छाएर बस्नयोग्य बनाउन सकिने नगरपालिकाले जनाएको छ। जनशक्ति अभावका कारण सबै घरको लेदो पन्छाउन भने कठिन भएको बताइएको छ।
यता, रसुवाको उत्तरगया गाउँपालिकामा बाढीले भेटेका सबै घर पूर्णरूपमा क्षतिग्रस्त भएकाले लेदो पन्छाएर पुनःस्थापना गर्न सकिने घर नरहेको गाउँपालिकाले जनाएको छ। त्यहाँ ६९२ घरधुरी प्रभावित भएकामा ६१३ परिवार पूर्णरूपमा विस्थापित भएका छन्।
भदौ १० गतेको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँसहित १५ जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी सरकारले उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिँदै आएको छ।

