ऋषि पञ्चमीमा सप्तऋषिको पूजा गर्दै हिन्दु नारी



काठमाडौँ,भदौ ३०। आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी। हिन्दु नारीहरूले अरुन्धतीसहित सप्तऋषि अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदै छन्।

यस अवसरमा हिन्दु धर्मावलम्बी महिलाहरू नजिकका नदी, खोला, ताल, तलैया तथा पोखरीमा पुगेर ३६५ वटा दतिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने प्रचलन रहेको छ।

तीज पर्वमा महिला र पुरुष दुवैले पूजा गर्ने भए पनि ऋषि पञ्चमीमा महिलाले मात्र स्नान तथा पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। यस दिन महिलाहरूले आफ्नो सौभाग्यका प्रतीक सिन्दूर, पोते, चुरा तथा धागो सप्तऋषिलाई चढाएर पूजा–आराधना गर्ने गर्छन्।

पूजा सम्पन्न भएपछि कर्कलो लगायतका विभिन्न कन्दमूलको तरकारी बनाएर खाने परम्परा पनि रहेको छ। कर्कलोमा आइरनलगायत शरीरका लागि आवश्यक विभिन्न पोषक तत्त्व पाइने भएकाले यसलाई स्वास्थ्यका दृष्टिले समेत उपयोगी मानिन्छ।

प्रतिक्रिया दिनुहोस्