कृष्णभीरको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा, असोज १ देखि यातायात सञ्चालन गर्ने तयारी
नारायणगढ (चितवन),भदौ ३०। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण सुरु गरिएको नयाँ ट्र्याकको काम अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीले थप पहिरो नआए असोज १ गतेदेखि नयाँ ट्र्याकबाट नियमित यातायात सञ्चालन गर्ने तयारी गरेको छ।
आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न भएपछि परीक्षणका रूपमा केही सवारीसाधन आवतजावत गराइएको थियो। परीक्षण सफल भए पनि हाल नयाँ ट्र्याक सर्वसाधारणका लागि खुला गरिएको छैन।
नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालका अनुसार आज ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरिएको थियो भने अहिले करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ। आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी उपकरण प्रयोग भइरहेका छन्।
करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक तथा नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको छ। हाल नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ गर्ने, सडकको किनारमा ड्रेन निर्माण गरी पाइप राख्ने तथा त्यसलाई सुरक्षित बनाउन टिक ड्रेन निर्माण गर्ने काम भइरहेको इञ्जिनियर नेपालले बताउनुभयो।
उहाँका अनुसार सब–बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुनेछ। “यो खण्ड अलिकति जोखिम छ। थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन हुन्छ,” उहाँले भन्नुभयो।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको बताउनुभयो। उहाँले परीक्षणका लागि मात्र केही सवारीसाधन पास गराइएको र अहिले नयाँ ट्र्याक पूर्णरूपमा बन्द रहेको स्पष्ट पार्नुभयो।
“सर्वसाधारण नयाँ ट्र्याक खुला गरिएको भ्रममा नपर्नुहोला। परीक्षणका लागि मात्र केही हिजो सवारीसाधन पास गराइएको हो,” उहाँले भन्नुभयो। थप समस्या नआए असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।

