भोटेकोशी विपद्को वैज्ञानिक निष्कर्ष : तातिँदो हिमालयले बढाउँदैछ हिमपहिरो र बाढीको जोखिम



काठमाडौँ,असोज २– हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकको अनुकूलन क्षमतामाथि थप चुनौती सिर्जना गरिरहेको वैज्ञानिक अध्ययनले देखाएको छ। हिमनदी पग्लिने, स्थायी हिउँले ढाकिएका क्षेत्र चट्टानी भूभागमा परिणत हुने तथा भौगर्भिक विपद्को जोखिम बढ्दै जाने क्रम तीव्र भएको अध्ययनको निष्कर्ष छ।

वल्र्ड वेदर एट्रिब्युसनका वैज्ञानिक तथा अन्तर्राष्ट्रिय हिमनदी विज्ञहरूले गरेको वैज्ञानिक विश्लेषणअनुसार मानव सिर्जित तापक्रम वृद्धिले उच्च हिमालयको वातावरणमा दीर्घकालीन परिवर्तन ल्याउँदा हिमनदी पातलिने, पर्माफ्रोस्ट पग्लिने र पहाडी चट्टान कमजोर हुने अवस्था सिर्जना भएको छ। नेपाल–चीन सीमा क्षेत्रमा भदौ १० गते गएको चट्टान–हिमपहिरो तथा त्यसपछि आएको विनाशकारी बाढीमा भूगर्भीय कारणसँगै दशकौँदेखिको जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको प्रभावले जोखिम थप बढाएको वैज्ञानिकहरूको निष्कर्ष छ।

अध्ययनअनुसार ल्याङटाङ लिरुङ हिमालबाट ठूलो परिमाणमा चट्टान र हिमनदी खसेपछि त्यसले पानी, हिउँ र गेग्रानसहितको विनाशकारी बाढीको रूप लिएको हो। वैज्ञानिकहरूले यसलाई कुनै एउटा चरम मौसमी घटनाको परिणाम मात्र नभई विभिन्न जलवायु तथा भूगर्भीय कारण एकैपटक जोडिएर भएको बहुआयामिक विपद्का रूपमा व्याख्या गरेका छन्।

प्रारम्भिक रूपमा उक्त घटना भूकम्पका कारण भएको हुनसक्ने अनुमान गरिए पनि पछिल्ला वैज्ञानिक प्रमाणले करिब दुई वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको चट्टानी भित्तो र हिमनदीको ठूलो भाग एकैपटक खसेपछि विपद् सुरु भएको देखाएको छ। करिब पाँच हजार १५० मिटरको उचाइबाट झरेको चट्टानसहितको हिउँको ढिक्को करिब तीन हजार ७५० मिटर उचाइको उपत्यकामा पुगेको थियो। ठूलो परिमाणमा चट्टान र हिम खस्दा उत्पन्न ऊर्जाले भूकम्पजस्तै भूकम्पीय तरङ्ग सिर्जना गरेको र उक्त ऊर्जा करिब ५.५ म्याग्निच्युडको भूकम्प बराबर रहेको वैज्ञानिक विश्लेषणमा उल्लेख छ।

पहाडबाट खसेको चट्टान, हिम र भग्नावशेष तीव्र गतिमा तल झर्दा उत्पन्न घर्षण तथा यान्त्रिक ऊर्जाका कारण हिउँ पग्लिएर थप पानी उत्पन्न भएको हुनसक्ने अध्ययनले जनाएको छ। त्यस क्षेत्रमा रहेका स–साना खाल्टामा जमेको हिम, हिमनदीमुनिको पानी र पर्माफ्रोस्ट क्षेत्रमा रहेको पानीसमेत मिसिँदा ठूलो परिमाणमा पानी, हिम, चट्टान र गेग्रानको मिश्रण बनेको र त्यही मिश्रणले विनाशकारी गेग्रानयुक्त बाढीको रूप लिएको अध्ययनको निष्कर्ष छ।

चट्टानसहितको हिउँको भेल उद्गमस्थलदेखि रसुवागढी नाकाबाट २२ किलोमिटर तलको क्षेत्रमा करिब सात मिनेटमै पुगेको अध्ययनले देखाएको छ। यसको औसत गति प्रतिघण्टा १८८ किलोमिटर रहेको अनुमान गरिएको छ। अत्यन्त तीव्र गतिको बाढीले रसुवागढी सीमा क्षेत्र, टिमुरे बजार तथा स्याफ्रुबेँसी आसपासका संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। बाढीबाट स्थानीयवासी, तीर्थयात्री, सीमा सुरक्षाकर्मी तथा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी प्रभावित भएका थिए।

बाढीले टिमुरे तथा वेत्रावतीजस्ता बजारमा ठूलो क्षति पुर्‍याउनुका साथै त्यस क्षेत्रको पहिचानसँग जोडिएका ठूला ढुङ्गा तथा महत्वपूर्ण सम्पदा भवनसमेत बगाएको अध्ययनमा उल्लेख छ। करिब सात घण्टाभन्दा कम समयमा बाढी २०० किलोमिटर तल देवघाट पुगेको र त्यहाँ नदीको बहाव दोब्बरभन्दा बढी भई प्रतिसेकेन्ड करिब पाँच हजार ८५० घनमिटर पुगेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। एक अध्ययनअनुसार करिब दुई करोड घनमिटर अतिरिक्त पानी चार घण्टाभन्दा कम समयमा बगेको अनुमान गरिएको छ।अध्ययनअनुसार बाढीले करिब तीन करोड पाँच लाख घनमिटर गेग्रान तथा भग्नावशेष थुपारेको थियो। त्यसबाट कृषि भूमि, बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। त्रिशूली नदीको जलसतहसमेत करिब आठ दशमलव पाँच मिटर बढेको अध्ययनमा उल्लेख छ।

वैज्ञानिक विश्लेषणले जीवाश्म इन्धनको प्रयोगबाट उत्पन्न मानव सिर्जित तापक्रम वृद्धिले उच्च हिमालयमा शून्य डिग्री सेल्सियसको तापक्रम रहने सीमा अर्थात् ‘जिरो डिग्री आइसोथर्म’ प्रतिदशक करिब १०० मिटर माथि सार्दै लगेको देखाएको छ। यसले उच्च हिमाली क्षेत्रमा जमिन तथा चट्टानभित्र रहेको स्थायी बरफ र पर्माफ्रोस्ट लामो समयसम्म पग्लिने अवस्था सिर्जना गरेको छ। पर्माफ्रोस्टमा रहेको बरफले चट्टानका चिरालाई जोडेर पहाडी भित्तालाई स्थिर राख्न भूमिका खेल्ने भएकाले यसको पग्लाइले चट्टान कमजोर बनाउने वैज्ञानिकहरूको भनाइ छ।

उट्रेक्त विश्वविद्यालयका पर्वतीय जलविज्ञ प्राध्यापक वाल्टर इम्मरजिलले जलवायु परिवर्तनका कारण उच्च हिमालयको वातावरणमा आधारभूत र दीर्घकालीन परिवर्तन भइरहेको बताउनुभएको छ। उहाँका अनुसार पर्माफ्रोस्ट क्षय, हिमनदी पछाडि हट्नु र गर्मीको अत्यधिक वृद्धि एकसाथ हुँदा हिमाली चट्टानको संरचनात्मक स्थायित्व कमजोर बन्न सक्छ।

तापक्रम वृद्धिका कारण हिमनदी उल्लेख्य रूपमा पातलिँदै र पछाडि हट्दै गएको वैज्ञानिकहरूले बताएका छन्। हिमनदीको क्षयले घटनास्थल वरपरका चट्टानले पाउँदै आएको प्राकृतिक सहारा कम गर्नुका साथै थप पग्लिएको पानी उपलब्ध गराएको हुनसक्ने अध्ययनमा उल्लेख छ। चट्टानका चिरामा रहेको बरफ पग्लिँदा चट्टानको बन्धन कमजोर हुने र पग्लिएको पानी चिराभित्र प्रवेश गर्दा पानीको दबाब बढ्ने भएकाले पहाडको स्थायित्वमा थप असर पर्नसक्ने वैज्ञानिकहरूको विश्लेषण छ।

विसं २०७२ को भूकम्पले पनि घटनास्थल आसपासको चट्टानी संरचना कमजोर बनाएको हुनसक्ने अध्ययनले जनाएको छ। यद्यपि उक्त भूकम्पको भदौ १० गतेको घटनामा प्रत्यक्ष योगदान कति थियो भन्ने अझै पुष्टि हुन नसकेको वैज्ञानिकहरूले स्पष्ट पारेका छन्। पहिले नै कमजोर बनेको चट्टानी संरचनामा दीर्घकालीन तापक्रम वृद्धि, हिमनदीको क्षय र पर्माफ्रोस्ट पग्लिने क्रमले थप अस्थिरता ल्याएको हुनसक्ने विज्ञहरूको भनाइ छ।चट्टान–हिमपहिरो हुनुभन्दा ठीक अघि सन् २०२६ को जुलाई र अगस्ट स्थानीयस्तरमा अहिलेसम्मकै सबैभन्दा तातो महिनाका रूपमा देखिएको अध्ययनले जनाएको छ। त्यसअघि सन् २०२५ को अक्टोबर र नोभेम्बरमा भएको उल्लेख्य हिमपातले पहाडमा ठूलो मात्रामा हिम सञ्चय गरेको र त्यसपछिको असामान्य तापक्रमका कारण तीव्र हिमपग्लाइबाट घटनाअघि थप पानी उपलब्ध भएको हुनसक्ने वैज्ञानिकहरूको धारणा छ।

अध्ययनमा गरिएको जलवायु एट्रिब्युसन विश्लेषणअनुसार घटनास्थल क्षेत्रमा जुलाई र अगस्टको तापक्रम औद्योगिक युगअघिको तुलनामा मानव सिर्जित जलवायु परिवर्तनका कारण करिब १.५ डिग्री सेल्सियस बढेको छ। वार्षिक रूपमा भने तापक्रम वृद्धि करिब दुई डिग्री सेल्सियस रहेको वैज्ञानिकहरूले बताएका छन्।

इम्पेरियल कलेज लन्डनका चरम मौसम तथा जलवायु परिवर्तनसम्बन्धी अनुसन्धानकर्ता डा बेन क्लार्कले यो घटना कुनै एउटा चरम मौसमी घटनाका कारण मात्र नभएको बताउनुभएको छ। उहाँका अनुसार दीर्घकालीन परिवर्तनमा जलवायु परिवर्तनको स्पष्ट प्रभाव देखिन्छ र उच्च हिमाली वातावरणमा भइरहेको परिवर्तनले विपद्का सम्भावित धेरै कारकलाई प्रभावित गरिरहेको छ।

रेडक्रस रेडक्रिसेन्ट क्लाइमेट सेन्टरका वरिष्ठ प्राविधिक सल्लाहकार तथा एसिया–प्रशान्त क्षेत्रीय फोकल प्वाइन्ट माधव उप्रेतीले भोटेकोशी विपद्ले नेपाल जलवायु अनुकूलनको सीमामा पुगिसकेको देखाएको बताउनुभएको छ। उहाँले भविष्यका विपद् मानवीय त्रासदीमा परिणत हुन नदिन विश्वव्यापी उत्सर्जन कटौतीसँगै जोखिममा रहेका समुदायले व्यहोर्नुपरेको हानि तथा नोक्सानी सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभयो।

क्लाइमेट एनालिटिक्स साउथ एसियाका निर्देशक तथा जलवायुविद् मञ्जित ढकालले भोटेकोशी विपद्लाई तीव्र गतिमा तातिरहेको हिमालयमा बढ्दै गएको जोखिमको गम्भीर चेतावनीका रूपमा व्याख्या गर्नुभएको छ। उहाँका अनुसार तापक्रम वृद्धिले हिउँ, हिमनदी, पर्माफ्रोस्ट तथा समग्र हिमाली वातावरणमा परिवर्तन ल्याएको मात्र नभई झन् जटिल प्रकारका प्रकोप तथा एकपछि अर्को असर पार्ने विपद् सिर्जना गरिरहेको छ।

ढकालले विज्ञानले देखाएका तथ्यलाई आधार बनाएर विश्वव्यापी कार्बन उत्सर्जन घटाउने, पर्वतीय क्षेत्रका जटिलता र जोखिमबारे अनुसन्धानमा लगानी बढाउने, हिमाली क्षेत्रमा अनुगमन तथा पूर्वसूचना प्रणाली बलियो बनाउने र जलवायु जोखिमलाई ध्यानमा राखेर विकास परियोजना अघि बढाउनुपर्ने बताउनुभएको छ।नेपालजस्ता जलवायु सङ्कटको अग्रपङ्क्तिमा रहेका देशलाई आवश्यक परेका बेला अन्तर्राष्ट्रिय जलवायु वित्त उपलब्ध गराउनसमेत उहाँले जोड दिनुभएको छ।

न्युक्यासल विश्वविद्यालयकी हिमनदी विज्ञानकी प्राध्यापक बेथान डेभिसले जीवाश्म इन्धनको प्रयोगबाट भइरहेको तापक्रम वृद्धिले हिमालयको हिउँ र बरफ पगाल्नुका साथै हिमनदीको क्षेत्रफल घटाइरहेको र पर्माफ्रोस्ट पगालिरहेको बताउनुभएको छ। हिमाली भिरालो संरचनालाई अस्थिर बनाउँदै यस्ता विपद्को जोखिम बढाउने भएकाले उत्सर्जन कटौतीका लागि तत्काल कदम चाल्नुपर्ने उहाँको भनाइ छ।

इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञानकी प्राध्यापक फ्रिडेरिके ओट्टोले जलवायु न्यायको प्रश्नसमेत गम्भीर बनेको बताउनुभएको छ। जीवाश्म इन्धनको उत्सर्जनबाट उत्पन्न विश्वव्यापी सङ्कटको मूल्य नेपालका समुदायले ज्यान गुमाएर चुकाउनुपरेको उहाँको भनाइ छ।

वैज्ञानिकहरूले हिमनदी तथा उच्च हिमाली पर्माफ्रोस्टले तापक्रम वृद्धिप्रति दशकौँसम्म प्रतिक्रिया जनाउने भएकाले विगतमा भइसकेको तापक्रम वृद्धिले भविष्यमा समेत पहाडी संरचनालाई अस्थिर बनाउने प्रक्रिया अघि बढाइसकेको चेतावनी दिएका छन्।भविष्यमा यस्ता घटना रोक्न उच्च हिमालयको निरन्तर वैज्ञानिक निगरानी, हिमनदी तथा पर्माफ्रोस्टको अध्ययन, पूर्वसूचना प्रणालीको सुदृढीकरण र सीमापार तथ्याङ्क आदानप्रदानसँगै जीवाश्म इन्धनको प्रयोग घटाउने विश्वव्यापी प्रयासलाई तीव्र बनाउनुपर्ने अध्ययनको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्