माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो
रसुवा,असोज २ । भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिको खोजीका क्रममा संयुक्त उद्धार टोलीले ६ वटा शव फेला पारेर बाहिर निकालेको छ।
नेपाली सेना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले आयोजनाको अडिट–३ सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला पारेको हो। अत्यन्त कठिन परिस्थितिका बीच उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटरी उद्धार उपकरणको प्रयोग गरी जाली काटेर शव बाहिर निकालेको नेपाली सेनाले जनाएको छ।
सुरुङभित्र व्यापक मात्रामा हिलो भरिएका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। हिलोमा अन्य शवजस्तै देखिने आकृतिसमेत भेटिएकाले उक्त क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई थप तीव्र पारिएको सेनाले जनाएको छ।
भोटेकोसी बाढीपछि बेपत्ता भएका अन्य व्यक्तिको खोजी कार्यसमेत निरन्तर जारी रहेको छ। उद्धार टोलीले सुरुङभित्र थप शव तथा बेपत्ता व्यक्तिको अवस्थाबारे खोजी गरिरहेको जनाएको छ।

