नुवाकोट पञ्चकन्याका बाढीपहिरो पीडितलाई कर्मयोग फाउन्डेसनको राहत



नुवाकोट,असोज २ । भदौ ४ र ५ गते परेको भीषण वर्षाका कारण बाढी तथा पहिरोबाट प्रभावित पञ्चकन्या गाउँपालिकाका परिवारलाई राहत सामग्री प्रदान गरिएको छ।

कोका–कोला फाउन्डेसन र बोटलर्स नेपाल लिमिटेडको आर्थिक सहयोग तथा कर्मयोग फाउन्डेसनको समन्वयमा प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री उपलब्ध गराइएको हो। बाढीपहिरोका कारण विस्थापित परिवार अहिले गाउँपालिकाको स्वास्थ्य भवनमा आश्रय लिएर बसिरहेका छन्।

यसअघि भोटेकोसी बाढीबाट प्रभावितहरूका लागि राहत तथा सहयोगमा सक्रिय रहँदै आएको कर्मयोग फाउन्डेसनले पञ्चकन्या गाउँपालिकाका पहिरोपीडित परिवारलाई समेत सहयोग गरेको हो।
राहत सामग्री गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई, कर्मचारी तथा गाउँ प्रहरीको उपस्थितिमा लिखु गाउँपालिकाका युवा समाजसेवी प्रकाश डङोलले हस्तान्तरण गर्नुभएको थियो।

राहत सामग्री प्राप्त भएपछि आश्रयस्थलमा बसिरहेका प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्रीको अभाव केही हदसम्म पूर्ति हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्