कांग्रेसको क्षेत्रीय अधिवेशन आज, केही क्षेत्रमा वर्षाका कारण मिति परिवर्तन



काठमाडौँ, असोज १०। नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशन हुँदैछन्। अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशनको मिति परिवर्तन गरिए पनि अधिकांश क्षेत्रमा पूर्वनिर्धारित कार्यतालिकाअनुसार अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

पछिल्ला दुई दिनको अत्यधिक वर्षा तथा आज र भोलि पनि भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै निर्वाचन समितिले असोज १३ गतेभित्र अनुकूलताअनुसार अधिवेशन सम्पन्न गर्न सकिने व्यवस्था गरेको छ। विशेषगरी पहाडी जिल्लामा वर्षाका कारण सडक अवरुद्ध भएका केही निर्वाचन क्षेत्रमा आइतबार र सोमबार अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो।

मौसममा सुधार देखिन थालेकाले अधिकांश स्थानमा आजै र बाँकी क्षेत्रमा सोमबार तथा मङ्गलबारसम्म अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म कुनै ठूलो समस्या नदेखिएको र सहज रूपमा अधिवेशन सम्पन्न हुने वातावरण बनेको समितिले जनाएको छ।

सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति, सङ्घीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन्। पालिका सभापति र प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्य तथा स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। पदेन सदस्यले मतदान गर्न पाए पनि उम्मेदवार बन्न भने नपाउने कांग्रेसको विधानमा उल्लेख छ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन्। सहसचिवमा एक महिलासहित दुई जना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एक जना रहने व्यवस्था छ। कार्यसमितिमा उपसभापतिको व्यवस्था गरिएको छैन भने १८ जना सदस्य निर्वाचित हुनेछन्।

महाधिवेशन प्रतिनिधिका रूपमा हरेक सङ्घीय निर्वाचन क्षेत्रबाट ३३ जना चयन हुनेछन्। त्यसमा महिला चार, खुला १०, एक महिलासहित तीन युवा तथा जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ १० जना निर्वाचित हुनेछन्। श्रमिक, पेसागत विज्ञ, अपाङ्गता भएका व्यक्ति, मुस्लिमसहित अल्पसङ्ख्यक, दलित तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक–एक जना चयन हुने व्यवस्था छ।

त्यसैगरी प्रत्येक सङ्घीय निर्वाचन क्षेत्रबाट महासमिति सदस्यका रूपमा महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा एक र जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ चार गरी १२ जना चयन हुनेछन्।

आज हुने प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट ‘क’ र ‘ख’ दुवै क्षेत्रका प्रदेशसभा क्षेत्रीय कार्यसमिति तथा प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन गरिनेछ। प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक–एक जना तथा एक महिलासहित दुई जना सहसचिव निर्वाचित हुनेछन्। कोषाध्यक्ष भने कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिको प्रस्तावमा मनोनयन गरिनेछ।

प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा दुई महिला, एक दलित, एक युवा, तीन खुला र जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ छ जना सदस्य निर्वाचित हुनेछन्। थप सात जनालाई कार्यसमितिमा मनोनयन गर्न सकिने व्यवस्था छ। प्रदेश प्रतिनिधिमा दुई महिला, आठ खुला, एक महिलासहित दुई युवा तथा जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ छ जना चयन हुनेछन्। पेसागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक, दलित तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट पनि एक–एक जना प्रदेश प्रतिनिधि चयन गर्न सकिने व्यवस्था गरिएको छ।

कांग्रेसको अधिवेशन शृङ्खला असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो। वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन्।क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ। कांग्रेसले केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँको खुलामञ्चमा सम्पन्न गर्ने गरी तयारी तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्