नारायणी नदीले पार गर्‍यो सतर्कता तह, तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह



चितवन,असोज १०। बिहीबारदेखि परेको वर्षापछि नारायणी नदीले सतर्कता तह पार गरेको छ। नारायणी बेसिन कार्यालय, चितवनका अनुसार नदीमा पानीको सतह ८ दशमलव ३० मिटर पुगेको छ।

कार्यालयका प्रमुख सुमित अधिकारीका अनुसार नारायणी नदीमा ७ दशमलव ३० मिटर पानीको सतहलाई सतर्कता तह मानिन्छ। नदीको बहाव निरन्तर बढिरहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उहाँले बताउनुभयो।

नदीको बहाव ९ मिटर पुगेपछि खतरा तह मानिने भएकाले थप वर्षा भए पानीको सतह जोखिमको तहसम्म पुग्न सक्ने सम्भावना रहेको प्रमुख अधिकारीले बताउनुभयो। सतर्कता तह पार गरे पनि अहिलेसम्म नदी किनारका बस्तीमा पानी पसिसकेको छैन। “अब फेरि वर्षात भएमा ठूलो बाढीको सम्भावना छ,” उहाँले भन्नुभयो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको बताउनुभयो। तत्काल उद्धार गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको तथा सूचना प्रवाह र पूर्वतयारीका काम भइरहेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्