आज राति चार प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना
काठमाडौं,असोज १० । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी तथा अति भारी वर्षाका कारण पहाडी क्षेत्रमा भूक्षय, बाढी र पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

