अर्थमन्त्री वाग्ले एआईआईबीको वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान



काठमाडौं,असोज १०। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन आज साँझ कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार प्रस्थान गर्नुभएका मन्त्री वाग्लेसँग अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव अमृत लम्साल पनि हुनुहुन्छ। वार्षिक बैठकका क्रममा अर्थमन्त्री वाग्ले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागी हुनुहुनेछ। सो क्रममा नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा आर्थिक वृद्धिका प्राथमिकतामा बहुपक्षीय सहयोग र लगानी परिचालनका विषयमा छलफल गर्नुहुने मन्त्रीको निजी सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री वाग्ले एआईआईबीका अध्यक्षसँगै भारत, बङ्गलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय संवाद सम्पन्न गरी मन्त्री वाग्लेको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डल आगामी असोज १४ गते कतार एयरवेजको उडानमार्फत स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्