अविरल वर्षाका कारण विपद्मा परी छ जनाको मृत्यु
काठमाडौँ,असोज १० । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार विपद्मा परी बागमती र लुम्बिनी प्रदेशमा दुई–दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक–एक जनाको मृत्यु भएको हो।
बाढी र पहिरोमा परी दुई जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
विपद्मा परेका तथा प्रभावित क्षेत्रमा प्रहरीले हालसम्म ४०७ जनाको उद्धार गरेको छ। प्रहरीले वर्षाका कारण थप बाढी, पहिरो तथा अन्य विपद्को जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

