कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ लाख ८३ हजार क्रियाशील सदस्यको विवरण हस्तान्तरण
काठमाडौं,असोज १०। नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै ७ लाख ८३ हजार ८३६ जना क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई हस्तान्तरण गरेको छ।
शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा डा. शशांक कोइरालाको उपस्थितिमा क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई बुझाइएको हो।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलका अनुसार हस्तान्तरण गरिएको विवरणमा ५ लाख ७३ हजार २६९ जना पुराना सदस्यको सदस्यता नवीकरण गरिएको छ भने २ लाख १० हजार ५६७ जना नयाँ सदस्य थपिएका छन्।
यसपटक सदस्यता व्यवस्थापन तथा महाधिवेशन प्रक्रियालाई प्रविधिमैत्री बनाउने प्रयास गरिएको पौडेलले बताए। नयाँ सदस्यता लिन तथा आगामी दिनमा सदस्यता प्रक्रियामा सहभागी हुन अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
विगतका महाधिवेशनमा क्रियाशील सदस्यताको विवादका कारण संगठनात्मक प्रक्रिया प्रभावित भएको उल्लेख गर्दै पौडेलले यसपटक सदस्यताको विवरण व्यवस्थित रूपमा निर्वाचन समितिलाई बुझाइएको बताए।
निर्वाचन समितिका संयोजक पोखरेलले निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्न तयारी अघि बढाइएको जानकारी दिए। उनका अनुसार असोज १५ गतेदेखि देशभरका वडामा अधिवेशन प्रक्रिया सुरु हुनेछ र अधिवेशनका परिणाम तत्काल सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ।
यसैबीच, कांग्रेस नेता डा. प्रकाशशरण महतले मंसिर तेस्रो साता १५औँ महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिएका छन्। उनले महाधिवेशनको पूर्वतयारीस्वरूप असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुने बताए।
महतका अनुसार एकताको महाधिवेशनका लागि प्रयास गरिए पनि सम्भव नभएपछि छोटो समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको हो। हालैको व्यापक वर्षाका कारण केही काममा ढिलाइ भए पनि केन्द्रीय कार्यालयका तर्फबाट गर्नुपर्ने तयारी अघि बढिरहेको उनले बताए।
सम्भव भएसम्म स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचन गराएको अनुभव भएका व्यक्तिको सहयोग लिएर अधिवेशनलाई छिटोछरितो रूपमा सम्पन्न गरिने महतले जानकारी दिए।
नवीकरण भएका तथा नयाँ प्राप्त क्रियाशील सदस्यहरूको सूची अनलाइनमार्फत जिल्ला हुँदै वडासम्म पठाइनेछ। छुटेका व्यक्तिले पनि आवश्यक प्रक्रिया पूरा गरी असोज १५ गतेभित्र क्रियाशील सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको जनाइएको छ।
महतले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुने र केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी रहेको बताए। उनले अहिले महाधिवेशनको तयारीलाई आपत्कालीन मोडमा अघि बढाइएको पनि बताए।
यसैगरी, वेबसाइट विकासकर्ता ज्ञानेन्द्र भट्टले चार दिनको छोटो अवधिमा तयार गरिएको नयाँ वेबसाइटमा साइबर सुरक्षालाई प्राथमिकता दिइएको बताए। हाल नयाँ क्रियाशील सदस्यता प्रक्रियालाई केन्द्रमा राखिएको वेबसाइटलाई आगामी दिनमा थप व्यवस्थित बनाउँदै लैजाने तयारी रहेको जनाइएको छ।

