नारायणीमा बाढीको उच्च जोखिम, जलसतह ११ मिटर पुग्यो
चितवन,असोज ११ । नारायणी नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेपछि चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा उच्च बाढी जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले आज बिहान ७ः४५ बजे जारी गरेको विशेष बाढी पूर्वानुमान तथा परामर्श बुलेटिनअनुसार नारायणी नदीको जलसतह खतरा तह ९ मिटरभन्दा माथि पुगेर करिब ११ मिटर पुगेको छ। जलसतह अझै बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।
नारायणीका प्रमुख सहायक नदीमध्ये कालीगण्डकीमा बहाव खतरा तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको छ। सेती, मादी, मर्स्याङ्दी, दरौंदी र चेपे नदीमा बहाव सतर्कता तहभन्दा माथि रहेको तथा बढ्दो क्रममा रहेको छ। बुढीगण्डकी र त्रिशूली नदीमा समेत बहाव सतर्कता तह नजिक पुगेको महाशाखाले जनाएको छ।
देवघाट बाढी मापन केन्द्रमा नारायणी नदीको बहाव आज दिउँसोसम्म बढ्ने पूर्वानुमान गरिएको छ। महाशाखाका अनुसार जलसतह करिब १३ मिटर पुग्न सक्ने र आज बिहान ११ बजे आसपास उच्चतम तहमा पुग्ने सम्भावना छ। आज साँझसम्म नारायणीको जलसतह खतरा तहभन्दा माथि नै रहने सम्भावना उच्च रहेको जनाइएको छ।
उच्च बहावका कारण चितवन तथा नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा बाढी र डुबानको जोखिम उच्च रहेको छ। नदी तटीय क्षेत्र, नदी किनार, तल्लो भूभाग तथा कमजोर तटबन्ध वा संरचना भएका स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाले नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित स्थानमा रहेका नागरिकलाई तत्काल सुरक्षित तथा अग्लो स्थानतर्फ जान वा स्थानान्तरण हुन अनुरोध गरेको छ। नदी तथा सहायक नदीका तटीय क्षेत्रमा आवतजावत नगर्न, नदी किनार, पुल, तटबन्ध तथा जोखिमयुक्त स्थानमा अनावश्यक भीड नगर्न पनि आग्रह गरिएको छ।
कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौंदी, चेपे, बुढीगण्डकी र त्रिशूली नदी तथा तिनका शाखा खोलानालामा समेत आज साँझसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी हुने निर्देशन र बाढीसम्बन्धी सूचनाको पालना गर्न पनि आग्रह गरिएको छ।

