मुग्लिन–नारायणगढ सडकमा दुई ठाउँमा समस्या, सिमलतालमा सडकको आधा भाग भासियो
चितवन,असोज ११। अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डमा दुई ठाउँमा सडक अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सिमलतालमा त्रिशूली नदीले सडक कटान गर्दा सडकको करिब आधा भाग भासिएको छ।
आइतबार बिहान ८ः४५ बजेको अद्यावधिकअनुसार सिमलतालमा सडकको आधा भाग भासिएपछि उक्त स्थानमा यातायात एकतर्फी सञ्चालन भइरहेको छ।
यसअघि बिहान ७ः५५ बजे नाम्सी खोलाको पुलमाथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। पहिरो हटाउन सम्बन्धित स्थानमा मेसिन तथा उपकरण परिचालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
कार्यालयका अनुसार पहिरो हटाउन करिब दुई घण्टा समय लाग्ने अनुमान गरिएको छ। वर्षाका कारण सडकखण्डमा थप पहिरो तथा कटानको जोखिम रहेकाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

