कालीगण्डकीको भीषण बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेनी बजार डुबानमा
पर्वत,असोज ११ । कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतका तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ। बाढीले जलजला गाउँपालिका–८ फर्सेका करिब २५ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
प्रहरीका अनुसार करिब ८० घरधुरी रहेको फर्से बस्तीमा कालीगण्डकीको बहाव पसेपछि २५ घर बगेका हुन्। बाँकी घरहरू पनि बाढीको उच्च जोखिममा रहेका छन्।
जोखिम बढेपछि फर्सेका सबै स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विजय यादवले जानकारी दिए। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रहरी टोलीलाई तत्काल घटनास्थल पुग्नसमेत कठिन भएको थियो। फर्से प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।
यसैगरी, कालीगण्डकीको बाढीले दक्षिण पर्वतको प्रसिद्ध पर्यटकीय तथा व्यापारिक केन्द्र सेतीबेनी बजारसमेत डुबानमा परेको छ। बाढी बस्तीमा पस्दा बजार क्षेत्रका घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ।
बाढीले पर्वतका अन्य तटीय क्षेत्र र सडक संरचनामा समेत क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। सहस्रधारा लगायतका क्षेत्रमा मध्यपहाडी लोकमार्ग क्षतिग्रस्त हुँदा कुश्मा–बागलुङ सडकखण्डमा आवतजावत ठप्प भएको छ।
बाढीको जोखिम कायमै रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताए। प्रभावित क्षेत्रमा उद्धार, राहत व्यवस्थापन तथा क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ।

