भारी वर्षाको सम्भावना अब टर्दै, अब देशका अधिकांश भूभागमा मौसम खुल्दै जाने
काठमाडाैँ,असोज ११ । भारतको उत्तर प्रदेश आसपासमा सक्रिय रहेको न्यूनचापीय प्रणाली कमजोर बन्दै गएसँगै मुलुकभरको मौसममा क्रमिक सुधार आउने भएको छ ।
यसअघि लगातार वर्षा गराएको यो मौसमी प्रणाली कमजोर बढेपछि नेपालमा वर्षाको गतिविधि पनि घट्दै जाने मौसमविद्ले स्पष्ट पारेका छन् । प्रणालीको प्रभाव खुम्चिँदै गए पनि आज दिनभर देशका केही भूभागमा पानी पर्ने क्रम भने जारी रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर प्रदेश आसपासको न्यूनचापीय क्षेत्र हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणतर्फ केन्द्रित रहेको छ । यही प्रणालीसँगै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले मधेश, बागमती र कोशी प्रदेशका पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली कायम छ ।
विशेषगरी सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका अधिकांश स्थानमा आज दिउँसो मध्यम किसिमको वर्षा हुने आकलन गरिएको छ । यसैगरी कर्णालीदेखि मधेश प्रदेशसम्मका विभिन्न भूभागमा पनि पानी पर्ने क्रम दोहोरिन सक्छ ।
यद्यपि धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना नरहे पनि चितवन आसपास, गण्डकीका तल्लो तथा पहाडी क्षेत्र, बागमतीको तल्लो भूभाग र लुम्बिनी तथा सुदूरपश्चिमका केही सीमित स्थानमा भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्को भनाइ छ ।
कोशी प्रदेशको पूर्वी भूभागमा भने अन्य क्षेत्रको तुलनामा वर्षाको प्रभाव कम रहने देखिएको छ ।
गएरातिको समयमा मध्य भूभागमा बाक्लो जलवाष्पयुक्त हावाको प्रभावले केही स्थानमा ठूलै पानी परेको थियो । तर, अब उक्त न्यूनचापीय प्रणालीको प्रभाव थप क्षीण हुँदै गएको छ ।
आज रातिको समयमा आइपुग्दा भारी वर्षाको सम्भावना टर्दै जाने र देशका अधिकांश भूभागमा मौसममा उल्लेखनीय सुधार आउने मौसमविद्ले जानकारी दिएका छन् ।

