पृथ्वी र कान्ति राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारीको समय तोकियो



हेटौँडा,असोज ११। अविरल तथा भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भई सवारी चाप बढेपछि मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा सवारी आवागमनको समय तालिका निर्धारण गरेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार सूचना जारी गर्दै त्रिभुवन राजपथ हुँदै हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट हेटौँडा आउने सवारीका लागि छुट्टाछुट्टै समय तोकेको हो।

प्रशासनका अनुसार हेटौँडाबाट काठमाडौँ जाने सवारीलाई चौकीटोलबाट असोज ११ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म, असोज १२ गते बिहान ४ बजेदेखि १० बजेसम्म तथा राति ९ बजेदेखि असोज १३ गते बिहान १ बजेसम्म सञ्चालन गर्न दिइनेछ। असोज १३ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म पनि सवारी सञ्चालन गर्न दिइनेछ।

त्यस्तै, काठमाडौँबाट हेटौँडा आउने सवारीलाई सिमभञ्ज्याङ चौकीबाट असोज ११ गते राति १० बजेदेखि असोज १२ गते बिहान १ बजेसम्म, असोज १२ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म र असोज १३ गते बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै आवागमन गर्न दिइने प्रशासनले जनाएको छ।

प्रशासनले इन्धन तथा एलपी ग्यास बोकेका बाहेक ११ मिटर लम्बाइसम्मका सवारीसाधनलाई मात्र उक्त सडकमा सञ्चालन गर्न अनुमति दिएको छ। १५ टनभन्दा बढी भार बोकेका मालवाहक सवारीसाधनलाई भने त्रिभुवन राजपथमा पूर्णरूपमा निषेध गरिएको छ।

मकवानपुर प्रशासनले तोकिएको समय र मापदण्ड पालना गरी सुरक्षित यात्रा गर्न चालक, व्यवसायी तथा यात्रुलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्