सुदूरपश्चिममा ठूलो वर्षाको जोखिम घट्दै, सतर्कता भने कायमै



धनगढी,असोज ११। सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्य वर्षा भइरहे पनि ठूलो वर्षाको जोखिम भने घट्दै गएको छ।

अत्तरियास्थित नेपाल मौसम विज्ञान फिल्ड कार्यालयका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव क्रमशः कमजोर बन्दै गएकाले वर्षासँगैको जोखिम पनि घट्दै गएको हो।असोज ९ गतेदेखि लगातार वर्षा हुँदा सुदूरपश्चिमको जनजीवन प्रभावित भए पनि अहिले ठूलो जोखिम टर्दै गएको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आइतबार दिउँसोदेखि न्यूनचापीय प्रणाली कमजोर बन्दै गएकाले ठूलो जोखिम नरहे पनि सतर्कता अपनाउनुपर्ने अवस्था कायमै रहेको बताउनुभयो।

उहाँका अनुसार आइतबार दिउँसो तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहे पनि रातिदेखि प्रदेशभर मध्यम वर्षा मात्र हुने पूर्वानुमान छ।

आइतबार दिउँसो प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार रातिदेखि हिमाली, पहाडी र तराई क्षेत्रमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको कार्यालयले जनाएको छ।

आगामी बुधबार भने सुदूरपश्चिमका अधिकांश स्थानमा मौसम आंशिक बदली रहने र केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। बुधबार राति तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्