नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, मलेखु–मुग्लिनका ११ स्थानमा पहिरो



चितवन,असोज ११ । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएपछि पोखरातर्फ जाने तथा आउने सवारीसाधन सञ्चालनमा आएका हुन्।

सडक डिभिजन कार्यालय चितवनका अनुसार आइतबार बिहान ७ः५५ बजे नाम्सीखोलामा लेदोसहितको पहिरो खसेको थियो। कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार दिउँसो १२ः१५ बजे पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको हो।

सडक सञ्चालनमा आएसँगै पोखराबाट नारायणगढतर्फ आउने र नारायणगढबाट पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन गन्तव्यतर्फ आवतजावत गरिरहेका छन्।

तर, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार शीलतबजारमा लेदो र रुखसहितको पहिरो खसेको छ भने सडकको छेउसमेत भासिएको छ।

बेनिघाट बजारनजिक गोमती खोलामा लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ। कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ। त्यस्तै, ज्यामिरेघाट–चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

हुग्दी खोलादेखि जवाङखोलासम्मको क्षेत्रमा ठाउँठाउँमा ढुङ्गासहितका साना पहिरो खसेका छन्। फिस्लिङ आसपासका तीन स्थानमा करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ। त्यहाँ करिब ३० मिटर सडकको आधा भाग चर्किएको छ।

चुम्लिङटारमा पनि ढुङ्गासहितको पहिरो खसेको छ। धारापानीका दुई स्थानमा करिब ५० मिटर सडकको आधा भाग भत्किएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो।

धारापानीमै कल्भर्ट खुलाउने काम भइरहेको छ। घोप्टेभीर र सिमलधारामा ठूला ढुङ्गा तथा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

इन्जिनियर मिश्रका अनुसार अहिले सबै स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ। ठूलो पहिरो नखसेमा साँझसम्म अधिकांश स्थानमा पहिरो हटाएर सवारीसाधन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरणसमेत पहिरो पन्छाउन प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्