खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिन निर्देशन



काठमाडौं,असोज ११ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टले असोज ८ गतेदेखि भइरहेको अविरल वर्षा तथा त्यसका कारण सिर्जित बाढी, पहिरो र डुबानलगायत प्रकोपजन्य घटनाको अवस्था र प्रभावबारे समीक्षा गरेको छ।

आइतबार बसेको कमाण्ड पोष्टको बैठकमा अविरल वर्षाका कारण भएका विभिन्न प्रकोपजन्य घटनाबाट पुगेको क्षति तथा त्यसको प्रभावबारे छलफल गरिएको हो।

बैठकले समयमै गरिएको पूर्वतयारी, पूर्वसूचना तथा पूर्वचेतावनीको प्रभावकारी संप्रेषण, पूर्वकार्य र प्रतिकार्यका कारण सम्भावित क्षति न्यूनीकरणमा सहयोग पुगेको निष्कर्ष निकालेको छ।

स्थानीय तहदेखि संघीय तहसम्मका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सञ्चार र सहकार्यले पनि प्रकोपबाट हुन सक्ने थप क्षति कम गर्न महत्वपूर्ण भूमिका खेलेको बैठकमा समीक्षा गरिएको छ।

बैठकले खोज, उद्धार तथा राहत व्यवस्थापनका कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्