नारायणीले बगाएको राइनो क्रुज पुलको पिलरमा अड्कियो
नवलपुर,असोज ११ । नारायणी नदीमा आएको बाढीले किनारमा राखिएको राइनो क्रुज बगाएको छ । नदीले बगाएको क्रुज नारायणी नदीमाथिको पुलको पिलरमा अड्किएको छ ।
नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाका अनुसार नेपालकै पहिलो तथा ठूलो क्रुज बगेर पुलको पिलरमा अड्किएपछि पुलको सुरक्षामा गम्भीर चुनौती थपिएको छ ।
क्रुजलाई तानेर निकाल्न सक्ने सम्भावना नरहेकाले क्रेनको सहायताले त्यसलाई फुटाएर सुरक्षित रूपमा बगाउन सकिन्छ कि भन्ने विषयमा छलफल भइरहेको रानाले बताउनुभयो । यसका लागि सडक डिभिजन कार्यालयसँग समेत कुराकानी भइरहेको उहाँको भनाइ छ ।
रात परिसकेको र नारायणी नदीको बहावसमेत कम नभएकाले क्रुज हटाउने काम थप चुनौतीपूर्ण बनेको रानाले बताउनुभयो ।इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीमा समेत नबगेको क्रुज अहिले नारायणी नदीले बगाएको हो ।
क्रुज पुलको पिलरमा अड्किएपछि पुलको पिलरमा क्षति पुग्ने तथा भाँचिन सक्ने जोखिम बढेको उहाँले बताउनुभयो । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा गत माघ १८ गतेदेखि राइनो क्रुज सञ्चालनमा आएको थियो । नवलपुर तथा आसपासका पर्यटकीय क्षेत्रलाई दिगो र सम्भावनायुक्त नयाँ पर्यटकीय गन्तव्य बनाउने योजनासहित करिब ५० करोड रुपैयाँको लागतमा राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा क्रुज सञ्चालनमा ल्याएका थिए ।
होटल रिभर क्राउन प्रालिका प्रबन्ध निर्देशक दीपक ढुंगेलका अनुसार साढे दुई तले क्रुज ९५ फिट लामो र २१ फिट चौडा छ ।क्रुजको पूर्ण क्षमता दुई सय जनासम्म रहे पनि एकपटकमा एक सय ५० जनालाई सेवा दिने गरी सञ्चालनमा ल्याइएको थियो ।

