वर्षा र बाढीपहिरोको जोखिम बढेपछि उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह



काठमाडौँ, असोज १२ । प्रधानमन्त्री वालेन्द्र शाहले अविरल वर्षाका कारण बाढी, पहिरो, डुबान र अन्य विपद्को जोखिम बढेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।

आइतबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले विपद्मा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उहाँले विपद्मा परी घाइते भएका पाँच जनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ।

प्रधानमन्त्री शाहका अनुसार असोज ८ गतेदेखि आइतबारसम्म चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको छ। यस अवधिमा बाढी, पहिरो, डुबान र चट्याङका गरी ४३९ वटा मनसुनजन्य घटना भएका छन् भने पाँच जना बेपत्ता भएको विवरण प्राप्त भएको उहाँले बताउनुभएको छ।

मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचना प्राप्त भएको र घटनाबारे विवरण सङ्कलन भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ। उहाँले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा सङ्कटमा परे निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गर्नुभएको छ।

प्रधानमन्त्री शाहले विपद्का समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्नेहरूमाथि सरकारले कडा निगरानी राखिरहेको बताउनुभएको छ। सङ्कटका बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य रहेको उहाँको भनाइ छ।

उहाँका अनुसार असोज ९ देखि १२ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हावाहुरी हुनसक्ने पूर्वानुमानपछि सरकारले नागरिकलाई पूर्वसावधानी अपनाउन सार्वजनिक अपिल गरेको थियो। सम्भावित विपद् व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत कमान्ड पोष्टको बैठक, निरन्तर सूचना सम्प्रेषण, रात्रिकालीन यातायात तथा विद्यालय बन्द गर्नेलगायतका सावधानीका निर्णय गरिएको र ७७ वटै जिल्ला कमान्ड पोष्ट सक्रिय बनाइएको उहाँले बताउनुभएको छ।

अविरल वर्षाका कारण गाउँदेखि सहरसम्म बाढी र डुबानको असर परेको तथा सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणालीलगायतका पूर्वाधारमा क्षति पुगेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। बेपत्ता नागरिकको खोजी तथा बाढीमा फसेका मानिस र पशुचौपायाको उद्धारमा सुरक्षाकर्मी अहोरात्र खटिरहेको उहाँले बताउनुभएको छ।

बाढीपहिरो प्रभावित परिवारका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको व्यवस्था गरिएको तथा नागरिकको सुरक्षाका लागि विभिन्न माध्यमबाट सूचना सम्प्रेषण र स्थलगत रूपमा माइकिङ भइरहेको उहाँले जानकारी दिनुभएको छ। पूर्वसूचनाका कारण हिमाली जिल्लामा पदयात्रामा गएका यात्रु तथा विद्यार्थी सुरक्षित रहन सकेको उहाँको भनाइ छ।

नारायणी नदीमा बाढीका कारण क्रुजसिप बगेर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको प्रधानमन्त्री शाहले बताउनुभएको छ। बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग, बिपी राजमार्ग, कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडक प्रभावित भएका छन्।भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा मर्मत गरिएका सडकमा पुनः क्षति पुगेको तथा कालीगण्डकीको पक्की पुलसमेत बगेको उहाँले बताउनुभएको छ। क्षतिग्रस्त सडकलाई शीघ्र मर्मत गरी यातायात पुनःसञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ।

बाढीका कारण कालीगण्डकी करिडोर, मस्र्याङ्दी तथा सेती–मादी करिडोरलगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ। तीमध्ये ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रसारण लाइनका टावर ढलेका कारण पूर्ण रूपमा बन्द भएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै थप ६९५ दशमलव २ मेगावाट उत्पादन क्षमताका आयोजनाको उत्पादन सुरक्षात्मक उपायस्वरूप बन्द गरिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ।

विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको उहाँले बताउनुभएको छ। ठूला नदीमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत प्रभावित भएको छ। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकीबाट हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ भने सेती, नारायणी र कमला नदीमा पनि पानीको सतह बढेकाले विशेष सतर्कता अपनाइएको छ। कुलेखानी क्षेत्रमा समेत यातायात रोकिएको उहाँले जानकारी दिनुभएको छ।

यसैबीच, हुरीसहितको वर्षाका कारण किसानको धानबाली, तरकारी तथा अन्य बालीमा ठूलो क्षति पुगेको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्