काङ्ग्रेस नुवाकोटका स्थगित अधिवेशनको नयाँ मिति तय
नुवाकोट, असोज १२ । अविरल वर्षा र प्रतिकूल मौसमका कारण स्थगित नेपाली कांग्रेस नुवाकोटका पालिका तथा क्षेत्रीय अधिवेशनको नयाँ मिति तय गरिएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थगित अधिवेशन मौसममा सुधार आएसँगै पुनः सञ्चालन गर्न नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो। जिल्ला निर्वाचन अधिकृत रत्नसुन्दर कुँजुद्वारा जारी सूचनाअनुसार पालिका स्तरीय अधिवेशन असोज १३ गते मंगलबार र प्रदेश क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १४ गते बुधबार गर्ने निर्णय गरिएको छ।
यसअघि कांग्रेस नुवाकोटले असोज ९ गते पालिका स्तरीय र असोज १२ गते प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने मिति तोकेको थियो। लगातारको भारी वर्षा, बाढीपहिरो र प्रतिकूल मौसमका कारण निर्धारित अधिवेशन स्थगित गरिएको थियो।
कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले मौसममा सुधार आएसँगै सडक यातायातसमेत सहज बन्दै गएकाले रोकिएका अधिवेशन पुनः सञ्चालन गर्न नयाँ मिति तय गरिएको बताउनुभयो। उहाँले नयाँ कार्यतालिकाअनुसार अधिवेशन तोकिएकै समयमा सम्पन्न हुने जानकारी दिनुभयो।

