बाढीपहिरोले अवरुद्ध सडक खुलाउन २४० भन्दा बढी हेभी उपकरण परिचालन



काठमाडौँ, असोज १२ । वर्षाका कारण बाढीपहिरोले अवरुद्ध भएका देशभरका प्रमुख राजमार्ग तथा सडक खुलाउन सरकारले विशेष आपत्कालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ।

पूर्वाधार विकास मन्त्रालयले सडक विभागमार्फत २४० भन्दा बढी हेभी उपकरण र प्राविधिक टोली २४ सै घण्टा परिचालन गरेको जनाएको छ। अवरोधको सूचना प्राप्त भएको आधा घण्टाभित्र मेसिन सम्बन्धित स्थानमा पुर्‍याई बढीमा दुई घण्टाभित्र सडक एकतर्फी वा पूर्ण रूपमा सञ्चालनमा ल्याउने नीति लिइएको विभागका प्रवक्ता शुभराज न्यौपानेले बताउनुभयो।

बाढीपहिरोका कारण बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न राजमार्ग तथा सडक प्रभावित भएका छन्। बागमतीमा हेटौँडा–भैँसे–भीमफेदी–फाखेल–काठमाडौँ सडक पूर्ण अवरुद्ध छ भने बिपी राजमार्गका विभिन्न खण्डमा पहिरोले यातायात प्रभावित भएको छ। पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडकखण्डमा समेत अवरोध रहेको जनाइएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोर, कर्णाली राजमार्ग, कर्णाली कोरिडोर, राप्ती राजमार्ग, महाकाली राजमार्गलगायतका विभिन्न खण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ।

सम्भावित थप बाढीपहिरोको जोखिमलाई ध्यान दिँदै कोशी प्रदेशका केही जिल्ला तथा सिन्धुली र काभ्रेका संवेदनशील सडकमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्