दार्चुलाका किसानको गुनासो: ‘स्याउ लटरम्म फले, बिक्री नै हुँदैन’
दार्चुला,असोज १२ । दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा यस वर्ष लटरम्म स्याउ फले पनि बजार र ढुवानीको समस्या हुँदा किसान चिन्तित बनेका छन्।
ती गाउँका झण्डै ५० परिवारले व्यावसायिक तथा परम्परागत रूपमा स्याउखेती गर्दै आएका छन्। कलमी, गाला र इटालियन फुजी जातका उन्नत स्याउ प्रशस्त फले पनि बजार अभाव र ढुवानी समस्याका कारण बिक्री गर्न नसकिएको हिमालयन कृषि फार्मका सञ्चालक कपुर सिंह धामीले बताउनुभयो।
धामीले ५०० भन्दा बढी स्याउका बोटबाट यस वर्ष १५ देखि २० क्विन्टल उत्पादन भएको बताउनुभयो। उत्पादन राम्रो भए पनि बजारसम्म स्याउ पुर्याउन कठिनाइ हुँदा किसानले अपेक्षित आम्दानी लिन नसकेको उहाँको भनाइ छ।
अपी हिमाल–३ कै कसौती गाउँमा जनक सिंह कार्कीले पनि व्यावसायिक रूपमा स्याउखेती गर्नुभएको छ। पाथाभन्दा अझै टाढा रहेको कसौती गाउँको स्याउ बजारसम्म पुर्याउन झनै समस्या हुने भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्।
पाथा गाउँमा घरेलु तथा साना उद्योग विकास कार्यालयले तीन वर्षअघि निर्माण गरेको चिस्यान केन्द्रमा समेत अहिले स्याउ थन्किएको छ। केन्द्रमा कपुर धामीको करिब १० क्विन्टलसहित अन्य किसानको समेत गरी १५ देखि २० क्विन्टल स्याउ राखिएको छ।
विद्युत् आपूर्ति नियमित नहुँदा चिस्यान केन्द्र प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाइ भएको किसानको गुनासो छ। लामो समयसम्म स्याउ केन्द्रमै थन्किँदा बिग्रने जोखिम रहेकाले उत्पादन बिक्रीका लागि बजार र सहज ढुवानीको व्यवस्था गर्न किसानले सम्बन्धित निकायसँग माग गरेका छन्।

