वर्षाले अवरुद्ध बिपी राजमार्ग खुलाउन प्रयास जारी
काठमाडौँ, असोज १२। पछिल्लो चार दिनदेखि निरन्तर भइरहेको वर्षाका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँ–ठाउँमा अवरुद्ध बनेको बिपी राजमार्ग खुलाउन प्रयास भइरहेको छ ।
बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्डमा यातायात सञ्चालनका लागि अवरोध हटाउने काम जारी रहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।डिभिजन सडक कार्यालय भक्तपुरको टोली आज बिहानैदेखि सडक सञ्चालनका लागि खटिएको छ ।
प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार मौसमले साथ दिएमा भोलि असोज १३ गते अपराह्नदेखि राजमार्गमा यातायात सञ्चालन हुन सक्ने सम्भावना छ ।
पछिल्ला दिनको वर्षाले बिपी राजमार्गमा वर्षायाममा दोहोरिँदै आएको बाढी, पहिरो र नदी कटानको समस्या पुनः देखिएको हो ।विसं २०८१ असोज दोस्रो साताको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र पहिरोले राजमार्गको काभ्रे खण्डमा ठूलो क्षति पुर्याएपछि सडक स्थायी पुनर्निर्माणको चरणमा छ । सडकको ठूलो भाग बगेपछि तत्काल यातायात सञ्चालन गर्न विभिन्न स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
पूर्वी तथा मध्य नेपाललाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको बिपी राजमार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण भएको हो । यस राजमार्गले राजधानीलाई तराई तथा पूर्वी जिल्लासँग जोड्दै यातायात, व्यापार तथा दैनिक जनजीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
राजमार्गमा हुने अवरोधका कारण यात्रु तथा चालकसँगै आसपासका बस्ती र व्यापार–व्यवसायसमेत प्रत्यक्ष प्रभावित हुने गरेका छन् ।

