मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
काठमाडौँ, असोज १२ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार बिहान पुनः पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पछिल्ला दिनमा प्रसाईंले दिएका अभिव्यक्तिका विषयमा सोधपुछ गर्न उनलाई पक्राउ गरिएको हो। साइबर ब्युरोले प्रसाईंका पछिल्ला अभिव्यक्तिबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रसाईंका पछिल्ला अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले समेत कानुनी कारबाहीको माग गर्नुभएको थियो। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले प्रसाईंले आफूविरुद्ध लगाएका आरोपको खण्डन गर्नुभएको थियो।
सांसद खतिवडा खत्रीका अनुसार प्रसाईंले आफ्नो छोराको शवसँग सांसद पद साटेको आरोप लगाएका थिए। उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँले प्रसाईंलाई बोल्नुअघि हजारौँपटक सोच्न आग्रह गर्नुभएको थियो।
उहाँले प्रसाईंका अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कानुनी कारबाही गर्न माग गर्नुभएको थियो। अहिले साइबर ब्युरोले पनि प्रसाईंका पछिल्ला अभिव्यक्तिकै विषयमा सोधपुछ अघि बढाएको जनाएको छ।

