धापाखेलमा पहिरोले साढे दुईतले घर ढल्यो



काठमाडौँ, असोज १२ । अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर पूर्णरूपमा ढलेको छ। ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित सोबितकुमार थापाको घर सोमबार बिहान ६ः३५ बजे पहिरोले बगाएर खोलामा पुर्‍याएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार पहिरोले घर ढलेपछि सोही स्थानको खोला समेत थुनिएको छ। प्रहरीले घटनास्थलमा जोखिमको अवस्था र क्षतिको विवरण संकलन गरिरहेको छ। घरमा पहिरो खस्न भने आइतबारदेखि नै सुरु भएको थियो।

आइतबार दिउँसो १ः४० बजे थापाको घरको भुइँतलासँग जोडिएको ट्रसबाट बनेको भान्छासमेत पहिरोले करिब २० मिटर तल खसालेको थियो। त्यसपछि घरमा थप जोखिम बढेपछि थापासहित तीन जनाको परिवार आइतबार नै आफन्तको घरमा सरेको थियो।

परिवारका सदस्य समयमै सुरक्षित स्थानमा सरेकाले घर पूर्णरूपमा ढले पनि मानवीय क्षति हुनबाट जोगिएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो। घटनास्थलमा प्रहरी प्रभाग धापाखेलबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा चार जनाको टोली खटिएको छ। ललितपुर महानगरपालिकाको नगर प्रहरी टोली पनि घटनास्थलमा पुगेर घरभित्र रहेका सामानलाई सुरक्षित स्थानमा सारिरहेको छ।

प्रतिक्रिया दिनुहोस्