राष्ट्रियसभामा बाढीपहिरोदेखि ग्यास अभावसम्मका विषय उठे
काठमाडौँ, असोज १२ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा मुलुकका विभिन्न भागमा भएका बाढीपहिरो, प्रभावित क्षेत्रमा भइरहेका खोज तथा उद्धार, राहत, सडक क्षति, खाना पकाउने ग्यासको अभाव तथा पूर्वप्रधानन्यायाधीशलाई प्रहरी नियन्त्रणमा लिइएको विषय उठाइएको छ।
बैठकमा सांसदहरुले पछिल्लो अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोबाट जनजीवन प्रभावित भएको भन्दै विपद्मा परेका नागरिकलाई समयमै उद्धार, राहत र सहयोग पुर्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
सांसद घनश्याम रिजाल र विष्णुदेवी पुडासैनीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरी नियन्त्रणमा लिनुपर्ने कारणबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो। सांसद रुक्मिणी कोइरालाले आगामी चाडपर्वलाई ध्यानमा राख्दै आमनागरिकको सडक यात्रा सुरक्षित र व्यवस्थित बनाउन भत्किएका सडकको तत्काल मर्मतसम्भारमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो।
सांसद विष्णुबहादुर विश्वकर्माले खाना पकाउने ग्यासको अभावबारे सरकारको ध्यानाकर्षण गराउँदै दैलेखको जलजलेमा ग्यास उत्खनन तथा उत्पादनका लागि परिणाममुखी पहल गर्न माग गर्नुभयो।
त्यस्तै, सांसद श्रीकृष्णप्रसाद अधिकारीले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन माग गर्नुभयो। सांसद सावित्री मल्लले प्रभावित नागरिकलाई तत्काल राहत र उद्धारको व्यवस्था गर्न तथा क्षतिग्रस्त मुख्य राजमार्ग तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो।

